प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमा एआइएनले १२ करोड भन्दा वढी राहत सामाग्री उपलव्ध गरेको दावी
काठमाडौँ, भाद्र २० । आज बिहान प्रधानमन्त्री दैवी प्रकोपराहतकोषमा नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सङ्गठन (एआइएन)ले रु पाँच लाख सहयोग गरेको छ ।
एआइएनका अध्यक्ष दीपकराज सापकोटाले सो रकम उल्लिखित चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
अध्यक्ष सापकोटाले प्रकोप पीडितहरुलाई संस्थाका सदस्य गैरसरकारी संस्थाहरुले विभिन्न साझेदार संस्थाहरुमार्फत रु १२ करोड ७९ लाख १३ हजार ३३२ बराबरको राहत सामग्री उपलब्ध गराएको दाबी पनि गर्नुभएको थियो ।
उहाँले एआइएनले सदस्य संस्थाहरु र तिनका साझेदार नेपाली संस्थाहरुलाई प्रकोप पीडितहरु पुनःस्थापना र जीविकोपार्जनका लागि आवश्यक क्रियाकलापमा सक्रिय हुन पनि तयार पारेको जानकारी दिनुभएको थियो ।
आजै ज्योति विकास बैंकले पनि रु दुई लाख ६३ हजार कोषमा सहयोग गरेको छ । बंैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बंैकका सञ्चालक हरि खड्कालगायत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
आजै सिटिजन्स बैंक इन्टरनेसनलले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५१ हजार ७०० रुपैया २ पैसा सहयोग गरेको छ ।
बैंकका नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो रकम उल्लिखित चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
शुक्रबारै देशभक्त पर्यावरणीय सामाजिक मोर्चाले पनि रु ७८ हजार ८१० सहयोग गरेको छ । राष्ट्रिय व्यापार सङ्घले पनि रु एक लाख एक हजार १११ सहयोग जम्मा गरेको छ । सङ्घले पहिल्यै रु चार लाख सुनकोशी पहिरो पीडितलाई सहयोग गरेको जनाएको छ ।
आजै, वित्तीय संस्था कर्मचारी युनियन, नेपाल राष्ट्र बंैकका तर्फबाट रु २५ हजार एक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ ।
त्यस्तै, नेपाल लेखापढी सङ्घ डिल्लीबजारले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २१ हजार १०१ सहयोग गरेको छ । त्यस्तै ह्युमन अफ नेपाल संस्थाले रु २३ हजार ३०० र दोलखाका गोविन्द दाहालले व्यक्तिगत रुपमा रु १० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले दाताहरुबाट उदारतापूर्वक आएको सहयोग रकम पीडितहरुको राहत र पुनःस्थापनमा खर्च गरिने र कुनै पनि किसिमको अनियमितता हुन नदिने आश्वासन दिनुभएको छ ।