Print

काठमाण्डौको कुलेश्वरमा आगलागी, डेढ घण्टामा नियन्त्रण

काठमाडौँ, १७ माघ २०७३। कुलेश्वरको नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा गएराली आगलागी भएको छ ।

कालिमाटी प्रहरीका अनुसार बेलुका ८ः३० मा सुरु भएको आगलागी प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको वताउनु भएकोछ ।

६ वटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए ।

आगलागी भएको सटर वरपर करिब १०–१२ वटा सटरमा समेत आगलागीको असर परेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

Print

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको लागि आवश्यक तयारी पुरा

धनुषा, १७ कात्तिक २०७३ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ ।

आगामी कात्तिक १९ गते हुने भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन जनकपुर उपमहानगरपालिका, स्थानीय प्रहरी प्रशासन तथा विभिन्न सङ्घसंस्था एकजुट भई लागेका छन् । राष्ट्रपति मुखर्जीको विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा दर्शन तथा स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरी कुल ५५ मिनेटको कार्यक्रम तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जनाउनुभएको छ ।

बिहान ११ बजे जनकपुर आइपुग्ने राष्ट्रपति मुखर्जीले पहिले जानकी मन्दिरमा २५ मिनेट पूजा दर्शनमा खर्चिने र त्यसपश्चात् तिरुहुतिया गाछीमा ३० मिनेट नागरिक अभिनन्दन कार्यक्रममा खर्चिने तय गरिएको प्रजिअ चापागाईंले जनाउनुभयो । अभिनन्दन गरिने तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन तथा स्थललाई सजाउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी चापागार्इंले सुरक्षा निकाय तथा नगरपालिका कर्मचारी अहोरात्र खटी तोकिएकै समयमा मञ्चको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । उहाँले अब केही सानातिना काम मात्र बाँकी रहेको र त्यो पनि चाँडै नै सकिने बताउनुभयो ।

स्थानीय प्रशासनले गर्नुपर्ने सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उहाँले भन्नुभयो–“भारतीय राष्ट्रपतिको सुरक्षाका लागि माथिबाटै टोली आउने भएकाले सुरक्षा रणनीतिअनुसार काम हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन गरिने जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार सुरक्षाकर्मी परिचालन हुने जनाउनुभयो । उहाँले भन्नुभयो–“स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन हुन्छ र यस बाहेक काठमाडाँैबाट थप सुरक्षाकर्मी युनिफर्म र सिभिल ड्रेसमा परिचालन हुनेछन् ।”

यता भारतीय राष्ट्रपति भ्रमणलाई लिएर नेपाल भारतको सीमावर्ती क्षेत्रमा चेकजाँच तीव्र गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती क्षेत्रको सुरक्षाका लागि भारतीय प्रहरीसँग समेत कुराकानी भएको प्रहरी प्रमुख आचार्यले बताउनुभयो ।

त्यसैगरी, तिरहुतिया गाछीमा हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको अभिनन्दन कार्यक्रममा एक हजार पाँच सय व्यक्तिलाई प्रवेश दिने जनकपुर उपमहानगरपालिकाले जनाएको छ । तिरहुतिया गाछीमा प्रवेश गर्नका लागि दुईवटा प्रवेशद्वार निर्माण गरिएको छ ।

गेट नम्बर १ बाट भिआइपी र गेट नम्बर २ बाट सर्वसाधारणलाई प्रवेश गर्न दिने कार्यक्रम तय गरिएको जउमपाले जनाएको छ । जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार १ नम्बर गेटबाट सुरक्षाकर्मीको जिम्मा लगाइनेछ र अर्को गेटबाट सुरक्षाजाँचपछि सर्वसधारणलाई प्रवेश गराइनेछ ।

अभिनन्दन कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, पत्रकार, व्यापारी, वुद्धिजीवी तथा नागरिक समाजका अगुवालाई प्रवेश पास दिने कार्यक्रम तय भएको इन्जिनियर यादवले बताउनुभयो ।

Print

४ वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा १८ वर्षीय रमेश भुजेल पक्राउ

महोत्तरी, १७ कात्तिक २०७३ । महोत्तरीको गौशाला नगरपालिका–२ मा ४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय रमेश भुजेल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

मङ्गलबार गौशाला–२ मै छिमेकीको ४ वर्षीया नाबालिका घर नजिकै खेलिरहेको अवस्थामा युवक भुजेलले उनलाई त्यही छेउमा रहेको उखुबारीमा लगी जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

पक्राउ गरिएका युवक भुजेललाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखी उनीमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Print

हिन्दुहरुको दोश्रो महान चाड भाइटी सम्पन्न

काठमाडौँ, १७ कात्तिक २०७३ । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलवार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ ।

सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउनेका लागि मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत दिइए पनि आज दिनभर भाइटीका लगाइएको छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही नहुने धार्मिक विश्वास छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त हुन्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाएको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई बताउनुभयो ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीका का दिन भक्तजनको भीड लाग्छ”–उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गत वर्षको भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

Print

भारतीय राष्ट्रपतिको भ्रमणका वेला वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई ट्राफिक प्रहरीको अनुरोध

aकाठमाडौँ, १५ कात्तिक २०७३ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले राष्ट्रपतिको सवारीको समयानुसार केही असहजता आउने भएकाले सो समयमा वैकल्पिक सडकको प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो । कात्तिक १७ गते बिहान ११ः३० देखि अपराह्न २ बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, थापाथली, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक मार्ग भएर चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो । सोही दिन अपराह्न १ देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, सोह्रखुट्टे र जय नेपाल मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

सोही दिन अपराह्न १ः४५ देखि ३ः४५ बजेका अवधिमा गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, पुतलीसडक क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने प्रहरीले जनाएको छ । सोही दिन साँझ ६ः३० देखि बेलुकी ८ः३० बजेसम्म गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, मित्रपार्क, चाबहिल, बौद्ध, थापाथली, कुपन्डोल, त्रिपुरेश्वर, टेकु, भोटेबहाल, कालीमाटी, सोल्टीमोड, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल क्षेत्रमा चल्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमणको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली र जोरपाटी क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । सोही दिन बिहान १० देखि अपराह्न २ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, थापाथली, कोटेश्वर, पुरानो बानेश्वर, शङ्खमूल, नागस्थान र नयाँ सडक क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने जनाइएको छ ।

त्यस्तै अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । कात्तिक १८ गते नै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रमा अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुने बताइएको छ ।

सोही दिन साँझ ६ः३० देखि बेलुकी ८ः३० सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सोही दिन बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु उपयुक्त हुनेछ ।

भ्रमणको तेस्रो दिन कात्तिक १९ गते राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाने कार्यक्रम रहेकाले काठमाडौँ उपत्यकाको सवारी आवागमन धेरै समय अवरोध हुने छैन । सो दिन बिहान ९ देखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगङ्गा, एयरपोर्ट, तीनकुने हुँदै सञ्चालन हुने सवारी साधन प्रभावित हुने भएको छ । उल्लिखित मार्ग भएर चल्ने सवारी साधनलाई पनि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको प्रहरी नायब महानिरीक्षक अर्यालले बताउनुभयो । उहाँले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारी साधनको आवागमन ठप्प हुन सक्ने जनमानसमा रहेको भय गलत भएको बताउनुभयो ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको ‘ट्राफिक एफएम’बाट १०/१० मिनेटमा सवारी ‘अपडेट’ दिइने भएकाले सोहीअनुरुप यात्रा तय गर्न सबैसँग उहाँले आग्रह गर्नुभयो । त्यस्तै प्रहरीको मोबाइल एप्स र फेसबुक पेजमा सवारी आवागमनबारे सूचना दिने व्यवस्था मिलाइएको तथा १०३ मा डायल गरेर समेत जानकारी लिन सकिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सवारी नभएको अन्य मार्गमा भ्रमणका क्रममा सवारी आवागमन नरोकिने उहाँले स्पष्ट पार्नुभयो । सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको उहाँको भनाइ छ ।